“चीनलाई बुझ्दै जाँदा”

nirmal
13 min readApr 1, 2020

दुईजना पश्चिमा लेखकहरु, डब्लु वाई फुलर्टन र सी ई विल्सटनले आफ्नो पुस्तक “न्यू चाइना, अ स्टोरी अफ मोडर्न ट्राभल” मा “चीन अहिले आफ्नो गन्तव्यको घडीमा प्रवेश गरेको कुरालाई सर्बसम्मत मान्नु बाहेक हामीसंग कुनै विकल्प छैन” भनेका छन्। यो पुस्तक सन् १९१० मै प्रकाशित भएको थियो जति बेला चीनमा त्यहाँको अन्तिम राजवंश “चिङ्ग”को शासन चलिरहेको थियो। सन् १९११ मा चीनमा गणतन्त्र आयो। चिङ्ग बंशको अन्त्यतीरको यात्रामा फुलर्टन र विल्सटनले त्यहाँ बिदेशीहरुलाई सजिलै स्वीकार्न थालिएको र त्यहाँका जनताहरुमा अंग्रेजी भाषा सिक्ने उत्कट इच्छा भएको कुरा उल्लेख गरेका छन्। लेखकद्वयको सन् १९१० को “गन्तव्यको घडी” देखि अहिलेको “हपिंग फाज्हन” (अर्थात, शान्तिपूर्ण विकास) सम्म आइपुग्दा चीनको इतिहास, संस्कृति र अर्थतन्त्रमा ठूलो भूमिका खेलेको यांग्त्जे नदिमा धेरै पानी बगिसकेको छ। गएको एक शताब्दीमा चीनमा धेरै ठूला परिवर्तन भएका छन्। सन् १९१९को मे विद्रोह, सन् १९३७ देखि १९४५ सम्म चलेको जापानसँगको युद्ध, सन् १९४६ देखि १९४९ सम्मको गृहयुद्ध र माओत्से तुङ्गको बिजय, सन् १९५८ देखि १९६२ सम्म चलेको कथित महान छलाङले निम्त्याएको ठूलो भोकमरी, सन् १९६६को दशकमा चलेको सांस्कृतिक क्रान्तिको त्रास, र सन् १९७० को दशकको अन्त्यतीर देङ्ग स्याओ पिङ्गले चीनको स्टालिन शैलीको आदेशात्मक अर्थतन्त्रलाई खुल्ला अर्थतन्त्रमा परिणत गरिसकेपछिको परिवर्तन बीसौं शताब्दीका महत्वपूर्ण घटनाहरु हुन्। सन् २०१७को ग्रिष्म ऋतुसम्म मलाई चीन धेरै टाढाको देश जस्तै लाग्थ्यो। विदेशी मिडियामा प्राय नछुट्ने तिब्बत, हंगकंग, सिन्जियांग, ताईवान र साउथ चाइना सीकाबारेमा लेखिएका समाचारहरु पढ्न त्यति जाँगर लाग्दैन्थ्यो। धेरै अघि चीनको सांस्कृतिक क्रान्तिको सेटिंगमा लेखिएको “बाल्जाक एण्ड दि लिटल सिमस्ट्रेस” भन्ने उपन्यास पढेको थिएँ। यो पुस्तक चिनिया मूलका फ्रेन्च लेखक दाई सिजेले लेखेका हुन जो त्यो क्रान्तिको एक जना भुक्तभोगी थिए। त्यसबाहेक मैले हंगकंगका निर्देशक वोङ्ग कार वाईले निर्देशन गरेका न्यू वेभ शैलीका र हंगकंग फिल्म उद्योगका गडफादर मानिने रेमन्ड चाऊले निर्माण गरेका थुप्रै एक्सन चलचित्रहरु हेरेको थिएँ। तर, यी र यस्तै सामग्रीहरुबाट चीन बिरलै बुझ्न सकिन्छ।

चिनिया मूलका फ्रेन्च लेखक दाई सिजेको “बाल्जाक एण्ड दि लिटल सिमस्ट्रेस”

सन् २०१७को ग्रिष्म ऋतुमा चीनको पश्चिमी भागमा अवस्थित चीनका ठूला शहरमध्येको एक छंग्दु सहरको सिचुवान विश्वविद्यालयको “इन्स्टीच्यूट अफ साउथ एशियन स्टडिज”बाट मलाई अचानक इमेल प्राप्त भयो। त्यो इमेलमा मेरो त्रिभुवन विश्वविद्यालयले मेरो तर्फबाट सो इन्स्टीच्यूटमा अध्ययन गर्नको लागि दिएको आवेदन स्वीकार भएको र एक महिनापछि सुरुहुने कक्षामा सहभागी हुन अनुरोध गरिएको थियो। तत्काल दुई कुराहरु मेरो मनमा आयो। पहिलो, मैले त्यहाँ गएर पढ्नु पर्ने विषय “अन्तरराष्ट्रिय सम्बन्ध” थियो जुन मेरो लागी एकदमै नयाँ थियो। दोश्रो, मैले चीनकोबारेमा बुझेको भनेको त्यहाँ कम्युनिस्ट शासन चलिरहेको छ र त्यहाँ धेरै कुरामा सरकारी नियन्त्रण छ। संगै, मैले चीनको आम संस्कृतीबारे केहि बुझेको थिएन र त्यही कुराले नै र संस्कृतीकै एक विद्यार्थी भएकै हिसाबले पनि मलाई चीनप्रति उत्सुक बनायो।

“इन्स्टीच्यूट अफ साउथ एशियन स्टडिज”का बिदेशी बिद्यार्थीहरु

छंग्दु सहरमा ओर्लिएर पर गल्लीमा आई पुग्दासम्म मैले चिनियाहरुले चर्को स्वरमा म्यान्डारिन बोलिरहेको चाख मान्दै सुनिरहेको थिएँ। चिनिया मूलत एक आपसमा नबुझिने सयौं भाषाहरुको परिवार हो। ती भाषाहरुमध्ये म्यान्डारिन मेनल्याण्ड चीन र ताइवानको आधिकारिक भाषा हो भने क्यानटोनिज हंगकंग र मकाऊको। एकाएक भएको भाषिक संक्रमण मलाई एकदमै रमाइलो लाग्यो। छात्रावासको पहिलो बिहान झ्यालबाट बाहिर हेर्दा हाईराइज घरहरु मात्रै देखिन्थे। ती सबै घरहरु अरु छात्राबास र क्यान्टिनहरु थिए। त्यो पहिलो बिहान मेरो लागी निकै अप्ठ्यारो रह्यो। मेरो जिब्रोले “नि हाओ” (हेलो) र “शे शे” (धन्यवाद) भन्न पनि सिकेको थिएन जुन वाक्यांश दिनमा अनेकौ पल्ट दोहोर्याउनु पर्थ्यो। मलाई लाग्थ्यो चिनियाहरुले अंग्रेजी भाषाका न्यूनतम वाक्यांशहरु, “हेलो” वा “थ्यांक यु” त कमसेकम बुझ्लान भनेर। पहिलो बिहान न मैले कतै एउटा अंग्रेजी शब्द देखें न त कसैले बोलेको नै सुने। त्यहाँ सबै कुरा म्यान्डारिन भाषामा लेखिन्थ्यो र बोलिन्थ्यो। ब्रान्डका नामहरु सबै म्यान्डारिन भाषाको उच्चारणमा ढालिएका हुन्थे। कोकलाई “खल” भनिन्थ्यो, र टिभीले डोनाल्ड ट्रम्पलाई “थांग ना द थ लाङ्ग पु” भन्थ्यो। बिहानको खाना अर्डर गर्न पनि आधा घण्टा लाग्यो। नेपाली साथीहरुमध्ये एक जनाले काठमान्डूमा म्यान्डारिन सिकेको थियो, तर उसले गरेको उच्चारण मिलेन। चीनिया टोनल भाषा हो, यसमा उच्चारणको भूमिका ठुलो हुन्छ। एउटै शब्द “मा”को पाँचवटा अर्थ हुन्छन्, उच्चारण अनूसारका फरक-फरक अर्थ। छात्रावासबाट कक्षाकोठासम्म पुग्न पैतालिस मिनेटको बाटो थियो। त्यहाँ पुग्न कि हिंड्नु पर्थ्यो, कि सार्बजनिक साईकल चढ्नु पर्थ्यो र कि भने ट्याक्सी चढ्नु पर्थ्यो। पहिले-पहिले ट्याक्सी चालकले हाम्रो म्यान्डारिनको छेउ टुप्पो केहि बुझ्दैन्थ्यो। भाषाको कक्षा लिदै जादाँ त्यहाँको दिन-प्रतिदिनको भाषामा बिस्तारै पकड हुन थाल्यो। विश्वका धेरै मान्छेहरुले चीनलाई बुझ्न नसक्नु त्यहाँको भाषा हो भन्ने गर्दछन्। अक्टुबरमा चिनिया राष्ट्रपति सी जिंगपींग नेपाल आउँदा नेपालको सरकारसँग एउटा पनि अनुवादक छैन भन्ने हल्ला चलेको थियो। सुन्दा अनौठो लाग्छ चीनमा सयौ नेपाली विधार्थीले पढेको हुँदा हुँदै र उनीहरु सबै चिनिया भाषा राम्रो बुझ्ने र बोल्ने हुँदाहुदै पनि नेपाल सरकारसंग एउटा पनि अनुवादक छैन। धेरै मान्छेहरुले चिनिया भाषा पढ्नु भन्दा अगाडी नै गार्हो ठान्छन्। हुनत चिनिया भाषा हामीले बोल्ने र बुझ्ने अरु भाषाभन्दा केहि अर्थमा तात्त्विक रुपमा फरक छ। यो भाषाको संरचनामा “सब्जेक्ट-प्रेडिकेट”को साटो “टपिक-कमेन्ट” प्रयोग हुन्छ। तर, चार महिनामा मैले पिन यीनमा (चीनिया भाषालाई रोमन अक्षरमा लेख्ने तरीका) दिन प्रतिदिनमा प्रयोग हुने सबै शब्द, वाक्यांश र वाक्यहरु लेख्न सिके, र यो समयसम्म म चिनिया साथीहरु र पसलेहरुसँग चाहिनेसम्म दोहोरो कुरा गर्न सक्ने भैसकेको थिएँ। मेरो लागि, अक्सफोर्डका क्यारोलिन ब्लन्डेन र मार्क एल्विनले उनीहरुको चीन सम्बन्धी बृहत पुस्तक “कल्चरल एटलस अफ चाइना”मा भनेजस्तै चिनिया “विश्वको सबैभन्दा सजिलोमध्येको भाषा” थियो।

क्यारोलिन ब्लन्डेन र मार्क एल्विनको “कल्चरल एटलस अफ चाइना”

मलाई सबैभन्दा उत्सुकता चीनको अध्यापन विधिमा थियो। म विश्वका धेरै ठाउँबाट आएका एक्सेन्ज विद्यार्थीहरुसँग थिएँ।अध्यापन विधिमा कुनै नौलोपन थिएन। प्रोफेसरहरु ल्यापटप बोकेर आउँथे, प्रोजेक्टरबाट बुलेट पोइन्टहरु देखाउथे, र त्यसैलाई व्याख्या गर्थे। कोहि एक घण्टाको लेक्चरपछि छलफल गराउथे भने कोहि छलफल र लेक्चर साथ-साथ लग्थे। छलफलमा सबै कुराहरुलाई स्थान दिईन्थ्यो। लोकतन्त्र, तिब्बत, हंगकंग, सिन्जियांग, ताईवान र साउथ चाइना सीको बारेमा बोल्न वा प्रश्न सोध्न पाईन्थ्यो। प्राय: प्रोफेसरहरुले चीनको आधिकारिक कुरालाई नै दोहोर्याउथे तर कतिपय बिषयमा विद्यार्थीहरुसँगको लामो बहसपछि भने “वि अग्री टु डीसअग्री” भनेर आफ्नै कुरामा अड्डी लिन्थे। कतिपयले अहिलेको भन्दा माओत्से तुङ्गको युग राम्रो र बढी समतामूलक भएको भनेर भन्थे। कहिले क्लासको बिच्चमा सांस्कृतिक क्रान्ति कसरी बेठिक थियो भनेर लामो व्याख्या हुन्थ्यो। कतिपय प्रोफेसरले बेजिङ्गका “हकिश” अधिकारीहरुको बिरोधमा समय खर्चिन्थे त कतिबेला चीनका केहि राष्ट्रवादी मिडियाको नाम लिएर उनीहरुले धेरै कुरामा बढाई-चढाई गरेर लेख्ने गरेको कुरा गर्थे। समग्रमा चीनको अध्ययन-अध्यापनको शैली पश्चिमी र फर्मल भन्दा भिन्न प्राक्टिकल लजीकबाट निर्देशित छ। सैद्दान्तिक कुराहरुभन्दा घटना र अंकहरु मार्फत कुरा गर्न त्यहाँका प्राध्यापक र बिद्यार्थी छलफल गर्न रुचाऊछन्। त्यहि भएर हुन सक्छ चीनियाहरुले प्रविधिगत कुराहरुमा निक्कै ठूलो फड्को मारेका छन् तर उनीहरुका अरु विधाका सिर्जनाहरुबारे बाहिरी विश्वमा भने कमै चर्चा हुन्छ। तर, सिर्जनशील उपकरण र दैनिक उपभोगका सामानहरु, प्रिन्ट र राईफल देखि सनग्लासहरू चीनबाटै आएका हुन्।

आफ्नो धारणा राख्दै मेरा एक जना साथी

अध्येताहरुका अनुसार १४औ शताब्दीदेखि १९औ शताब्दीसम्मको चीनमा सृजनशीलता अचम्म गरी हरायो। यो त्यहि समय थियो जतिबेला यूरोप बेगसँग दौडीरहेको थियो। पांग्रासँगको पुरानो चिनीया मोह भने यथाबत छ। चीनका शहरमा चौडासडकबाहेक साइकल र ईलेक्ट्रिक बाईक चलाउने छुट्टै बाटाहरु हुन्छन्। मानिसहरु दस तलामाथि एउटा पांग्राबाट मात्र चल्ने ईलेक्ट्रिक बाईकमाथि उभिएर फिल्म हेर्न पुग्छन्। चीनमा प्राय निजी साइकल हुदैन। एपमार्फत न्यूनतम शूल्कतिरेर चढ्न मिल्ने सार्बजनिक साइकलहरु जहाँबाट पनि चढ्न मिल्छ र जहाँ पनि छोड्न मिल्छ। डाटा पठाउने, ट्रयाक गर्न मिल्ने र आफ्नै अलग नेटवर्क भएका यी साइकलहरुलाई एक पश्चिमी संचारमध्यमले “सडकमा गुड्ने कम्यूटर” समेत भनेको थियो। साइकलको संसारभरीनै पितृसत्ता, गरिबी र वातावरण बिनाशका विरुद्ध लडेको ईतिहास छ। देङ्ग स्याओ पिङ्गको पालामा चीनमा साइकलको लोकप्रियता यति धेरै बढ्यो कि विश्वकै सबभन्दा बढी प्रयोग हुने मेकानिकल यन्त्र यसलाई मानिन थालियो। सन् १९७०को दशकमा आमूल आर्थिक परिवर्तन ल्याएका देङ्गले सम्वृद्धिको परिभाषा नै घरघरमा साइकल भनेका थिए। अहिले आएर चीनियाहरुलाई निजी साइकल किन्नु पर्दैन, यद्दपी छिटो-छरितो र छोटो दुरीको यात्राको लागी यो वाहन पहिले जत्तिकै लोकप्रिय छ। र, साइकल बिनाको चिनिया समाज र जीवनशैली कल्पना गर्न गार्हो पर्छ।

जे. एन. यू. का प्रोफेसर महेन्द्र पी. लामा बिदेशी बिद्यार्थीको प्रस्तुतिमा सुझाव दिदै

प्रिन्टको आविष्कार पनि सन् २२० भन्दा अघि चीनमै भएको मानिन्छ। चीनका सहरहरु घुम्दा त्यहाँ थुप्रै किताब पसलहरु त भेटिएलान तर अंग्रेजी भाषाका किताब र पत्रिकाहरु प्राय: पाईदिन। तर, क्याम्पसहाताका पसलहरुमा भने अंग्रेजी भाषाका पुस्तकहरुको चीनको लागी छुट्टै बनाईएका संस्करणहरु किन्न पाईन्छ। ति किताबहरुमा म्यान्डारिनमा छुट्टै सारांश दिईएको हुन्छ। चिनीयाहरुले विश्वविद्यालयभित्र दशौवटा पुस्तकालयहरु बनाएका छन्। ति पुस्तकालयहरु नेपालकाभन्दा निकै ठूला र चुस्त-दुरुस्त हुन्छन्। त्यहाँ हजारौ-हजार पुस्तकहरु हुन्छ। अंग्रेजीमा भाषाका पुस्तकहरु पनि प्रशस्तै हुन्छन्। छंग्दु सहरको जोन्फु रोडमा रहेको प्रान्तीय पुस्तकालय बडो बिचित्रको छ, जहाँ असि लाखभन्दा बढी पुस्तकहरु छन्। चीनका पुस्तकालयमा त्यहाँ कम्युनिस्ट राज्य व्यवस्थाको ठाडो बिरोध गरिएको हुन सक्ने बाहेक विज्ञान, अर्थशास्त्र, दर्शन र समाज विज्ञानका प्रशस्तै अंग्रेजी पुस्तकहरु पाईन्छन। त्यहाँ किन्डलको बिक्रि धेरै हुन्छ। बाहिरका विश्वविद्यालयहरुमा जस्तै चीनमा पनि वर्षभरिमा सयौ कार्यक्रम र सेमिनारहरु हुन्छन्। यस्तै एउटा कार्यक्रममा नेपालबारे अध्ययन गरेका क्यामब्रिजका प्रोफेसर एलेन म्याकफ्यारलानले दि न्यू स्कूल, न्यूयोर्कका नेपाली प्रोफेसर डा. अशोक गुरुङ्गको प्रस्तुति र त्यसपछिको प्रश्नोत्तर सुनिरहेका थिए। बिदेशी र चीनिया बिद्यार्थीहरुसँग प्रोफेसर म्याकफ्यारलानले किन सबैले डा. गुरुङ्गलाई सजिलो प्रश्नमात्रै सोधेको भनेर एकछिन रिसाए। दक्षिण एसियाभर शिक्षकप्रति विधार्थीले आदरभाव दर्शाउनुपर्छ भन्ने आम मान्यता छ। चीनमा पनि क्याम्पसहरुमा शिक्षकहरुप्रतिको आदरभाव निक्कै देख्न पाइन्छ। चीनको समाजमा गडेर बसेको कन्फुसिएन विचारले “गुरूलाई सम्मान गरेर मात्र सिकाई र ज्ञानको सम्मान हुन्छ” भन्ने कुरा सिकाउछ। बिस्तारै कन्फुसिएन विचारले चीनको समाजमा बढवा पाउदै छ।

कसै-कसैले “चिनिया हेगेल” भन्ने ह लेन

चीनमा बिस्तारै धार्मिक नियन्त्रण खुकुलो हुदै गैरहेको छ। छंग्दु शहरमा प्रसस्तै मुस्लिम रेस्टुरेन्टहरु छन् र मुस्लिम विद्यार्थीहरुका लागि छुट्टै क्यान्टिनहरु बनाईएका छन्। धेरै पसलहरुमा हलाल गरिएको मासु पाईन्छ। शुक्रबार तियान्फु क्षेत्रमा रहेको मस्जितमा प्रार्थनागर्नेको ठूलो भिड लाग्छ। यता यस्तो छ भने चीनको उत्तर-पश्चिम क्षेत्रमा रहेको सिन्जियांग स्वशासित क्षेत्रमा मुस्लिमहरुमाथि गरिएको भनिएको दमनकाबारे अहिले पश्चिमी संचारमाध्यममा लगातार प्रशारण भैरहेको छ। चीनले सन् २००१ देखि नै पृथकतावादलाई आतंकवाद मान्ने गरेको छ, अनि त्यसै गरी आफ्नो कारवाही अघि बढाईरहेको छ र अन्तरराष्ट्रियरुपमा नै यसलाई अघि बढाउदै लगेको छ। बेजिङ्गकै अनुरोधमा सिन्जियांगको “पुर्बी तुर्किस्तान स्वतन्त्रता आन्दोलन”लाई सन् २००२मा अमेरिकाले आतंकवादी संगठनको मान्यता दिएको थियो। चीनले तिब्बतलाई पनि पृथकतावादीहरुको क्षेत्रको रुपमा लिएको छ। धेरै जसो समय नानजिंग र बेजिङ्गका बसेका चिनिया शासकका हातमा तिब्बतको सार्वभौमसत्ता रही आएको छ। सन् १९१२ को चिङ्ग राजवंशबिरुद्धको “सिनहाई क्रान्ति” पछि भने तिब्बत आफैले आफू स्वतन्त्र भएको घोषणा गरेको थियो, च्याँग साई सेकको तत्कालिन राष्ट्रवादी सरकारको अनुमति बेगर। सन् १९४९ को कम्युनिस्ट सरकारले बाहिरी मंगोलिया र रुसले लगेको उत्तर-पूर्वी क्षेत्रबाहेक सबै क्षेत्र आफ्नो अधीनमा लिएको छ। छंग्दु शहरमा थुप्रै तिब्बती बिद्यार्थीहरु बस्छन्। तिब्बतीहरु आफुलाई हान चीनियाहरुभन्दा नेपाली र भारतीयहरुसँग नजिक मान्छन्। चीनमा बस्दा मेरा थुप्रै तिब्बती साथीहरु थिए जसले मलाई दाई-भाई भनेर सम्बोधन गर्दथे। हामीहरू तिब्बती खाजाघरमा गएर “नुडल्स” खान्थ्यो।

छंग्दु सहरको हुवंग छेंग मस्जिद तस्बिर: गुगल

चीनको सिचुवान प्रान्त र छंग्दु सहरको सबैभन्दा ठूलो विशेषता त्यहाँको खाना संस्कृति हो। तैपनि एकाएक भिन्न प्रकारको र भिन्न तरीकाले पकाएको खानालाई सबैले उत्तिकै सजिलै ग्रहण गर्न सक्दैनन्। स्वादको सन्दर्भमा फ्रेन्च समाजशास्त्री पेरे बार्दुले आफ्नो पुस्तक “डिस्टीन्सन: अ सोसल क्रिटिक अफ दि जजमेन्ट अफ टेस्ट”मा भनेका छन् — “स्वाद पहिले त स्वादहिनता र दिगमिगता हो, र अरुको स्वादप्रतिको असहिष्णुता हो”। यसलाई समाज विज्ञानको भाषामा “एथनोसेन्ट्रिक व्यवहार” भनिन्छ। मलाई पनि आफ्नै खाना ठिक भन्ने “एथनोसेन्ट्रिजम” को फिलींग पहिलो चोटी चिनिया खाना खाँदा नै भएको हो। खाना र स्वादको सन्दर्भमा एउटा भनाई छ, खाना पहिले आखाँ र नाकले खाईन्छ, अनि त्यसपछि मात्र जिब्रो वा मुखले। तर, दृस्टी र गन्ध दुवै सापेक्ष कुराहरु हुन्। नेपाली र पश्चिमी खानाको दृश्य र गन्धमा पोख्त भएकाहरुलाई कतिपय चिनिया खाना हेर्दै वा सुँघ्दै नखौं जस्तो लाग्छ। सापेक्षता कतिसम्म हुन्छ भने चीनमा “साकाहारी” शब्दको अर्थ नै छैन। यदी छ भने “शाकाहारी” भनेको मासुको स-साना टुक्राहरु खानु हो। क्यानटिनमा बेचिने सबै तरकारीहरुमा कुखुरा, गोरु, बुङ्गुर, हाँस र खरायोका मिसिएको हुन्छ। र, सबै खानामा अत्यधिक तेल, मसला र टिमुरले मोलिएको हुन्छ। स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा तेल र मसलाको जथाभावी प्रयोगलाई हानिकारक मानिन्छ। तर, त्यहाँको विश्वविद्यालयमा पढेका कतिपय चिकित्सकहरु यो कुरा मान्दैनन्। चीनिया र दक्षिण-पूर्व एसियाका धेरै मुलुकहरुका खानाहरुमा प्रयोग हुने अर्को मसला मोनोसोडियम ग्लूटामेट अर्थात् अजिनोमोटो हो। चीनका प्राय सबै खानामा अजिनोमोटो राखिएको हुन्छ। पश्चिममा अजिनोमोटोले स्वास्थ्यमा खराब गर्न सक्ने वस्तुको रुपमा लिईन्छ, तर यसले के खराब गर्छ भन्ने कुरा अहिलेसम्म पुष्टि हुन सकेको छैन। भोग पत्रिकाका खाना समिक्षक जेफ्री स्टेनगार्टेनका अनूसार अजिनोमोटोप्रतिको भय पश्चिमी मोडेलबाट प्रेरित छ जसलाई पुर्बीय खाना संस्कृतिकोबारेमा एकदमै कम जानकारी छ। सिचुवानको सबैभन्दा बिशिस्ट खाना भने “हुओ गुओ” अर्थात “हट-पट” हो। यो खाना रेस्टुरेन्टमा गएकाहरुले आफै पकाएर खान्छन्। टेबलमै चुलो हुन्छ। हट-पटमा मासु, सामुन्द्रिक खाना र “भोलि भेटौला” भनिने च्याऊ लगाएतका थुप्रै खाने कुराहरु उम्लिरहेको पानी, नून, खुर्सानी र मसलाको मिश्रणमा डुबाएर पकाईन्छ र खाईन्छ। हिउँदमा हट-पट रेस्टुरेन्टहरुमा धेरै भिड लाग्छ। रेस्टुरेन्टबाहिर सुर्यमुखी र फर्सीको गेडा खादै मानिसहरु आफ्नो पालो कुरिरहेका हुन्छन्। मैले आफ्नो बसाईमा थुप्रै चोटी हट-पट रेस्टुरेन्टहरुमा गएँ, कहिले साथीहरुसंग, कहिले शिक्षकहरुसँग। हट-पटका पारखीहरु छंग्दु र ३४० किलोमिटर टाढाको छोनचिन शहर बुलेट ट्रेनमा ओहोर-दोहोर गरिरहन्छन्। अप्रिल २०१९मा प्रकाशित दि इकोनोमिस्ट पत्रिकाले छंग्दु र छोनचिन शहरबीच कहाँको हट-पट मिठो भन्ने द्वन्द्वकोबारेमा एउटा लेख लेखेको थियो। कतिपयले हट-पटलाई सर्वहाराहरुले सुरु गरेको मान्छन् भने कतिपयले शाही परिवारबाट सुरुवात भएको मान्छन्। छोनचिन शहरमा हट-पटकै लागी छिट्टै संग्रहालय छ। क्षेत्रीय रुपमा चीनको खानामा धेरै बिविधता पाईन्छ। फुजानको सोय सस राखिएको माछा र गंगटा देखि तिब्बतको दुग्ध पदार्थ बढी मिसिएको खाना। छंग्दु सहरमै पनि कतिपय ठाउँमा सर्प बेच्न राखिएको हुन्छ।

फ्रेन्च समाजशास्त्री पेरे बार्दुको यो पुस्तकले खानामाथि हुने “एथनोसेन्ट्रिक व्यवहार” लाई प्रस्ट्याउछ

खानाकै सन्दर्भलाई लिएर छंग्दु शहरलाई यूनेस्कोले सन् २०१०मा पहिलो चोटी “क्रिएटिभ सिटी अफ ग्यास्ट्रोनोमी”को मान्यता दिएको थियो। त्यहाँको सबै खानाहरुको स्वाद लिन धेरै समय लाग्छ। हरेक चोटी नयाँ रेस्टुरेन्ट जाँदा केहि न केहि नयाँ खाना खान पाईन्छ र केहि न केहि नयाँ पेय पदार्थ पिउन । “बाईजु” भनिने कडा रक्सी चीनमा धेरै लोकप्रिय छ। विश्वको सबैभन्दा बेशी पिइने बाईजुमा रक्सीको मात्रा ३० प्रतिशतसम्म हुन्छ। बाईजुबाहेक चीनमा चिया सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ हो। चिया चीनमा व्यापकरुपमा खाईन्छ। बिहानै उठ्ने बितिक्कै चिनियाहरु आफ्नो थर्मो फ्लास्कमा चियाका पातहरु र तातो पानी राख्छन्, र दिनभर पिईरहन्छन्। फ्लास्कको पानी सक्किएपछि, फेरी भर्छन्। चीनमा प्राय तातो पानी खाईन्छ। कलेज, क्यान्टिन, रेस्टुरेन्ट, पुस्तकालय, छात्राबास र एअरपोर्टमा जहितही तातो पानी सित्तैमा पाईन्छ भने चिसो पानी किन्नु पर्छ। अरु शहरहरुमा जस्तै छंग्दु शहरमा प्रशस्तै चियाघरहरु छन् जहाँ मानिसहरु पत्रिका पढ्छन्, माजोङ्ग खेल्छन्, क्यालिग्राफी (सजावटि अक्षरकला) गर्छन्, र निरन्तर चुरोट र चिया खान्छन्। सन् ९६० देखि १२७९ सम्म शासन गरेको सन बंश ताका चीनमा एउटा लोकोक्ति प्रचलित थियो — मानिसका सात दैनिक आवश्यकताहरु छन्, दाउरा, चामल, तेल,नून, भटमासको सस, भिनेगर र चिया। क्यामब्रिजका प्रोफेसर एलेन म्याकफ्यारलानका अनूसार बेलायतको औधोगीक क्रान्ति अंग्रेजी श्रमिक वर्गले गम्भीर ढंगले चिया खान सुरु गरिसकेपछि मात्र सम्भव भएको हो। बेलायतमा र विश्वभरी नै चिया र चिया संस्कृति चीनबाट निर्यात भएको हो। तातो पानीमा हालेर खानु पर्ने भएकोले अंग्रेजी श्रमिक वर्गको स्वास्थ्यमा चियाले राम्रो असर गरेको र त्यसले उनीहरुको उत्पादनशिलता बढेको कुरा एलेन म्याकफ्यारलान र उनकि आमा आइरिसले लेखेको किताब “दि अम्पाएर अफ टि, दि रिमार्केबल हिस्ट्री अफ प्लान्ट दयाट टूक ओभर दि वोर्ल्ड”मा उल्लेख छ। भनिन्छ चीनमा दश हजार थरिका चिया पाईन्छन्। ग्रीन र उलोंग बाहेक त्यहाँ अनिगिन्ती चिया पाइन्छ। कतिपय अवस्थामा चिनियाहरुले गैर-चियालाई चिया मान्दछन्। वाल-मार्ट र क्याफो जस्ता सुपरमार्केटहरुमा सुन्तलाको बोक्रालाई समेत चिया भनेर बेचिन्छ। गोदावरीको फूललाई त चीनभरि नै चियाकै रुपमा लिईन्छ। जति चिया, त्यति नै चुरोट। चीनको फुटपाथमा कसैसँग परिचय गर्नुस् र केहि बेर कुरा गर्नुस्, उसले आफ्नो प्याकेट खोलेर एक खिल्ली चुरोट तपाईलाई दिन्छ। नजिकै बसेको मान्छेलाई नदिएर हत्तपत्त मानिसहरु चुरोट सल्काउदैनन्। सहरका नाईट क्लबहरुमा सबैले सबैलाई चुरोट बाँडिरहेका हुन्छन्। चीनमा प्राय सबै ठाउँमा चुरोट खान पाईन्छ। रेस्टुरेन्ट र विश्वविद्यालयका कार्यालयभित्र समेत। क्लास सक्किएपछि लबीमा गएर शिक्षक र विद्यार्थीहरुसंगै चुरोट खान्छन्। चीनले विश्वकै सबैभन्दा बढी सुर्ती उत्पादन र खपत गर्छ। चीनमा धेरै जसो डाक्टरहरु पनि चुरोट खाइरहेका भेटिन्छन्।

छंदु शहर नजिकै बेच्न राखिएको खाना, तस्बिर: प्रसान्त कुमार बि.क.

एक करोड मान्छे बस्ने छंग्दु जनसंख्याको आधारमा चीनको छैठौ ठूलो शहर हो। बाटो क्रस गर्ने ठाउँमा एक छिनमै भिड जम्मा हुन्छ। बस स्टेशन, अन्डरग्राउण्ड रेल्वे, क्यान्टिन जहि तही मान्छेको भिड हुन्छ। मानिसले आफ्नो जीवनशैलीलाई परम्परागत र आधुनिक दुबैतीर ढालेका हुन्छन्। केफसी र हट-पट दुवै रेस्टुरेन्टहरुमा उत्तिकै मान्छेहरु हुन्छन्। प्राचीन गल्लीहरुमा र लुई भिटोका शोरुमहरुमा जताततै मानिसहरु हुन्छन्। त्यति नै चियाघरहरुमा र नाईट क्लबमा। चिनीयाहरुको आफ्नो नाच्ने संस्कृति छैन्, त्यसैले उनीहरु नाईट क्लबमा फ्रीमा पाएको जिम बिम व्हिस्कीको तालमा नाच्ने बिदेशीहरुबाट नाच्ने तरिका नक्कल गरिरहेका भेटिन्छन्।

सिचुवानका एक मेधावी, युवा प्रोफेसरले आफुले पत्रिकामा “अप-एड” लेख्ने कल्पना पनि गर्न नसक्ने बताए।

चीनका प्रमुख पर्यटकीय शहरमध्येको एक छंग्दुमा चीनले निर्माण गरेका धेरै ठूला संरचनाहरु छन्। तियानफूको ग्लोबल सेन्टरले ३२९ वटा फूटबल ग्राउण्डहरु बराबरको क्षेत्रफल ओगट्छ। २००० वर्ष पुरानो दुज्यांगयांग सिचाई आयोजना चीनमा मानव निर्मित ईन्जिनियरिङ्गको अद्भुत नमूना मानिन्छ जुन अहिले पनि काम गरिरहेको छ। हाई-राईस घरहरुकै पछिल्तिर शान्त ताओ मन्दिरहरु भेटिन्छन्। एक ठाउँबाट कथित पुरानो शहरमा पुगिन्छ भने अर्कोमा “अउट बुर्जुवा”को सपिङ्ग प्याराडाईज।

छंदुको उफंग प्राचीन शहर

चीनमा बिहान बूढाबुढीहरुले धिमा गतिमा गर्ने टाइची र वयस्कहरुको छिटो दौडबाट सुरु हुन्छ। हातमा भात र सिमिको सूपको कप समातेका क्लर्कहरु बिहान बस स्टेसन पुग्न हतार गरिरहेका भेटिन्छन्। चीनमा साँझको खाना छिटो खाईन्छ। सात बजे नै क्यानटिनहरु बन्द हुन्छन्। खाना पछि चीनियाहरु दौड्न या घुम्न निस्कन्छन्। बाँकी रहेको समय वि-च्याट र वेबो जस्ता सामाजिक संजालमा बित्छ। वि-च्याटले चीनमा व्हाटस्-एप, उबर,फेसबूक र अनलाईन ब्यान्किंगको काम गर्छ भने वेबो त्यहाँको टुईटर हो। चीनको आफ्नै इन्टरनेट संसार छ, यहाँको गुगल त्यहाँको बाईडु,बाहिरको अमेजन र त्यहाँको अलि-बाबा।

वि-च्याटले चीनमा व्हाटस्-एप, उबर,फेसबूक र अनलाईन ब्यान्किंगको काम गर्छ

अहिले चीनले विश्वका धेरै ठाउँबाट आफ्नो विश्वबिद्यालयहरुमा बिदेशी बिद्यार्थीहरु ल्याउन करोडौं यानबराबरको छात्रवृत्ति दिईरहेको छ। मैले विश्वबिद्यालयमा दक्षिण भारत र श्रीलंकाबाट आएका चिकित्साशास्त्रका बिद्यार्थी, रसायनशास्त्रका पाकिस्तानी बिद्यार्थी, इथियोपियाका ब्यबस्थापनका बिद्यार्थी र अन्तरराष्ट्रिय सम्बन्ध पढ्ने अमेरिकन र क्यानाडाका बिद्यार्थीहरु प्रशस्तै भेटें। अहिले युरोपियन मूलुकको २० बर्ष पुगेको बिद्यार्थीलाई चीन घुमेको छ भनेर सोध्यो भने ऊ कुनै ऐक्सचेन्ज प्रोग्राममा चीन गएको उत्तर दिन सक्छ। यसरी चीनले बिस्तारै आफ्नो “सफ्ट पावर” यसरी यहाँ आएका बिद्यार्थीलाई चिनिया भाषा र संस्कृति सिकाएर र बिश्वभर फैलीएका कन्फ़ुसियस इनस्टीच्युटहरु मार्फत गर्दै छ। म सँग कुरा गर्दै गर्दा छ महिना देखि चीनका रहेका जे.न.यू.का एक पि.एच.डी. बिद्यार्थीले हाँस्दै आफू बिस्तारै “प्रो चाइनिज” हुँदै गएको ठट्टा गरेका थिए| विश्वविद्यालयभित्र हुने “बेल्ट एण्ड रोड”का सेमिनारहरुमा अमेरिकन र भारतीय प्रोफेसरहरु सो आयोजनाको निरन्तर प्रशंसा गरिरहेका हुन्छन्। नेपालबाट पटक-पटक पत्रकार, नेता र विश्वविद्यालयका पदाधिकारीहरुको जन्केट पटक-पटक चीन गैरहेको हुन्छ। यस्तै एउटा सेमिनारमा भेटिएका विश्वविद्यालयका पदाधिकारीले कार्यक्रमको विषयसँग असम्बन्धित बिषयमा पेपर प्रस्तुत गरे र कार्यक्रम नसक्किदै म सँग सस्तो सामान पाउने फ्लि मार्केट लग्दिन आग्रह गरे।

तियान्फु क्षेत्रको प्रान्तीय पुस्तकालय तस्बिर: प्रसान्त कुमार बि.क.

अक्सफोर्डका क्यारोलिन ब्लन्डेन र मार्क एल्विनले भने जस्तै चीनबारे बाहिरबाट लेखिएका धेरै सामग्रीहरु भावनात्मक र वैचारिकरुपले प्रेरित हुन्छन्। नेपालमा छापिएका लेखहरु बढी नै चीन समर्थित हुन्छन्। चीनको कुरा गर्दा सबैको मनमा झट्ट आउने कुरा लोकतन्त्र र स्वतन्त्रताको हो। रसियन-बेलायती राजनीतिशास्त्रका ज्ञाता आईजा बर्लिनका अनूसार स्वतन्त्रताका दुई आयामहरु हुन्छन् — धनात्मक (पोजिटिभ लिबर्टी) र ऋणात्मक (नेगेटिभ लिबर्टी)। चीनमा प्रकाशन र संगठनमा सेन्सरसिप छ जसले गर्दा त्यहाँको पोजिटिभ लिबर्टी एकदमै कमजोर छ भने नेगेटिभ लिबर्टी बलियो छ। बितेका दशकमा चीनले गरिबीको दरलाई निक्कै कममा झारेको छ। यसलाई धेरैले मानव ईतिहासकै एउटा नमूना हो भन्दै पत्रिकाहरुमा आलेख लेख्छन्। चीनका शहरहरुमा गरिब र गरिबी देख्न सकिदैन। तर, कतिपयको भनाईलाई मान्ने हो भने ठूला शहरहरु अहिले नै त्यहाँका कुनै कुनाहरु “स्लम एरिया” बन्ने हो कि भनेर सजक रहन्छन्। यति धेरै बिकास, आर्थिक वृद्धि र गरिबीको न्यूनीकरणपछि के चीनले आफ्ना जनतालाई “दु:खी हुने अधिकार” (अर्थात, लोकतन्त्र )देला त? क्याम्ब्रिजका चीनविज्ञ राना मित्तरले आल्दोस हक्सलेको डिस्टोपियन उपन्यास “ब्रेभ न्यू वोर्ल्ड”को एक प्रश्न नै आधुनिक चीनको मुटुमा रहने बताएका छन्। एक सय वर्षको बेलायती शासनका बेला लोकतन्त्रको अभ्यास गर्न नपाएको, तर सन् १९९७को चीन फिर्तीपछिमात्र केहि हदसम्मको निर्वाचन पद्दतिमा गएको हंगकंगमा सन् २०१४ र २०१९मा भएका आन्दोलनहरुले यो प्रश्नलाई झनै सान्दर्भिक बनाएको छ।

आल्दोस हक्सलेको “ब्रेभ न्यू वोर्ल्ड”को चिनिया संस्करण

व्यक्तिगत रुपमा चीनमा मैले धेरै कुरा सिके र धेरै कुराहरु बिर्सिए। दक्षिण-एसियाली र पश्चिमी ढर्रामा अटेर भएर बसेको मैले चीनमा छुट्टै दुनियाँ, छुट्टै सोच्ने तरीका र छुट्टै जीवनशैली देखें। “कन्ट्रोभर्सिअल” राजनैतिक र आर्थिक आवरणभित्रको सांस्कृतिक चीन साच्चिकै भिन्न छ।

--

--